काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेडले विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। ७ वटा जलविद्युत कम्पनी, एउटा जीवन बीमा, एउटा विकास बैंक र २ वटा लघुवित्त कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का गरिएको हो।
सेयर कारोबार रोक्का भएका ७ वटा जलविद्युत कम्पनीहरूमा नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, पन्चकन्या माई हाइड्रोपावर लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनियन हाईड्रोपावर कम्पनी छन्।
त्यस्तै, गुँरास लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यी कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरण धितोपत्र बोर्डमा नबुझाएपछि ती कम्पनीको कारोबार रोक्न बोर्डले नेप्सेलाई पत्राचार गरेको थियो।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम बोर्डमा पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरू नबुझाएका कारण कारोबार रोक्का गर्नुपर्ने बोर्डको पत्र पाएलगत्तै नेपाल स्टक एक्सचेन्जले आइतबार यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।