फाइल तस्बिर।
काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाईं केपी ओलीसँग नभइ केपी प्रवृत्तिको भएको टिप्पणी गरेका छन्। उनले आफूहरू केपी ओलीको नयाँ अवतार हुन नचाहेको र नहुने पनि बताए।
अहिलेको लडाईं केपी ओलीसितको निजी लडाईं वा नेकपाका पक्ष-विपक्षबीचको लडाईं मात्रै नभएको उनले दाबी गरे। केपी ओलीले संविधान मिचेर संवैधानिक शासनलाई चुनौति दिएकाले प्राप्त उपलिब्धको रक्षाका लागि आन्दोलित हुनु परेको अध्यक्ष नेपालको प्रष्टिकरण छ।
‘अहिलेको लडाईं केपी ओलीसँगको होइन, यो केपी प्रवृत्ति विरुद्धको लडाईं हो’ एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘ती प्रवृत्ति हामीमा भयो भने केपी ओली र हामीमा कुनै फरक हुने छैन। त्यही तौरतिरका अपनायौं भने हामी पनि केपीको अर्को अवतार हुने छौं। केपीको नयाँ-नयाँ अवतार चाहिएको छैन। एउटै केपी ओलीबाट देश आजित भइसक्यो।’
उनले केपीको नयाँ-नयाँ अवतार आयो भने के होला ? भन्दै नेपालले प्रश्न गरे। उनले विगतमा भएका त्रुटिहरू सच्याउन स्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताएका छन्। अध्यक्ष नेपालले स्वेतपत्र जारी गर्ने विषयमा सोचिसकेको बताए।
‘हामी विगतका त्रुटिलाई सच्याउने प्रतिवद्धता गर्दछौं। जसलाई स्वेतपत्र भन्ने गरेका छन्’ अध्यक्ष नेपालले भने, ‘यो स्वेतपत्र जारी गर्नुपर्छ भन्ने कुरा सोचिरहेका छौं। त्यो विषयमा तयारी भइराखेको छ।’
‘संविधानलाई सम्मान गर्ने र संविधानलाई क्षत-विक्षत गराउनेहरूबीचको लडाईं हो। यो लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई कमजोर बनाउनेबीचको लडाईं हो। गणतन्त्रलाई सुदृढ बनाउने र गणतन्त्रका सबै उपलब्धिलाई समाप्त गर्नेबीको लडाईं हो। समावेशी समानुपतिकलाई सदृढ गर्नेबीचको लडाईंहो’, नेपालले भने, ‘हामी संघर्षमा जित्यौं भने नेपाली जनताले जित्नेछन्। नेपाल राष्ट्रले जित्नेछ। संघर्षबाट जित्न सकेनौं भने नेपाली जनता हार्नेछ। देशले हार्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।