काठमाडौं- नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघले सहसंयोजक रमेश पौडेललाई संयोजक बनाउने तयारी गरेको छ। यसका लागि युवा संघको केन्द्रीय कमिटी बैठक केहीबेरमा बस्ने संघका नेता प्रभातविक्रम कटुवालले बताए।
आइतबारको केन्द्रीय कमिटी बैठकले संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको थियो। दीपशिखा नेकपाको प्रचण्ड–माधव पक्षमा छन्। उनी तत्कालीन वाइसिएलको अध्यक्ष थिए।
पौडेल नेकपा एकीकरणअघि तत्कालीन एमालेको युवा संघको अध्यक्ष थिए। साबिक युवा संघका महासचिव किरण पौडेल र नेता वचनबहादुर सिंहले समेत संयोजकमा दाबी गरेको भएपनि पौडेललाई संयोजक बनाउने तयारी गरिएको हो। दाबेदार धेरै भएकैले बैठक लम्बिएको छ।
यसअघि नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा एकले अर्कोलाई कारबाही गरेर जिम्मेवारी तोकिसकेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा राजनीतिक रुपमा विभाजित भएको छ। प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।
केहीदिन अघि मात्र नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको थियो। त्यसअघि आयोगले दुवै पक्षको विवरण अस्वीकार गर्दै नेकपा नफुटेको निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।