काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उछाल आएको छ। आइतबार नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२४ अंकमा कायम भएको हो।
आइतबार २०२ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार कित्ता सेयर ८७ हजार ६ सय ७० पटक खरिद बिक्री हुँदा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। पुँजी बजारमा कारोबार भएको यो हालसम्मकै बढी रकम हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ३५ वटा कम्पनीको कारोबारमा पोजेटिभ सर्किट लागेको छ।
बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः ३.७१, ०.१७, र ०.०४ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ५७२.११ अंकले बढेको छ। त्यस्तै निर्जीवन बिमा समूह ४९०.३ लघुवित्त समूह ३३४.२५, व्यापार समूह ८२.८२, होटल समूह २७.५२, जलविद्युत समूह ५९.२१, वित्त समूह १६.०९, उत्पादन समूह ४१.७१ र अन्य समूह ५३.९२ अंकले बढेको छ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी लिमिटेडको ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ७ लाख ३६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। सबैभन्दा धेरै डिप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६.२७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।