काठमाडौं- सभामुख अग्निप्रसाद सापकाेटाले सर्वाेच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथि आइतबार सुनुवाइ हुँदैछ। सापकाेटाले अदालतमा आफैँ उपस्थित भएर शुक्रबार संवैधानिक परिषद्मा भएकाे नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए।
सभामुख सापकोटाले दायर गरेको रिटको पेशी न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा तोकिएको छ। पेशी तेस्रो नम्बरमा चढेको छ।
मंसिर ३० गते आफ्नाे उपस्थितिबिना बसिएको संवैधानिक परिषद् बैठकबाट ल्याइएको अध्यादेशमार्फत् गरिएकाे नियुक्ति गैरकानूनी भएकाे जिकिर गर्दै सापकाेटाले रिट दर्ता गराएका थिए।
यसरी गरिएकाे सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले संवैधानिक निकायमा नियुक्त अध्यक्ष र प्रमुखलाई सपथ गराएका थिए। त्यसपछि सम्बन्धित निकायकाल अध्यक्ष र प्रमुखले सदस्य एवं आयुक्तहरूलाई सपथ गराएका थिए।
सभामुख सापकाेटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरुलाई रिटमा विपक्षी बनाइएकाे छ।
अख्तियार, मानव अधिकार आयाेगलगायत निकायमा ३४ जनाले सपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।