काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलन थप व्यापक बनाउन अपिल गरेको छ। संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने पार्टी नीति रहेको प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधि सभा विघटनको विरोधका लागि ‘नेपाल बन्द’ नगर्ने कांग्रेसले प्रतिवद्धता समेत जनाएको छ। सरकारका जनविरोधी कार्यलाई विरोध गर्ने क्रममा बन्दको आयोजना नगरिएको प्रष्टाउँदै विरोधको शैली सालिन हुने उसले बताएको छ।
नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्तिविरुद्ध नेपाली कांग्रेस संसद र सडक दुवै ठाउँमा शालिन ढंगले प्रस्तुत भएको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन्, ‘जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं। विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिल समेत गर्न चाहन्छौं।’
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने कदम र संवैधानिक निकायका पदाधिकारीको सपथग्रहण प्रक्रियाप्रति पनि आपत्ति जनाइएको छ। ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ’, विज्ञप्तिमा भनिएको छ।
पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा कांग्रेसले विभिन्न तहमा प्रर्दशन गरेको छ। शनिबार शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने भएका छन्। फागुन ३ मा ७७ जिल्लाका कार्यसमितिले एकसाथ प्रर्दशन गर्ने कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।