काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू स्वेतपत्रको तयारीमा रहेको बताएका छन्। शुक्रबार केन्द्रीय संघर्ष समितिले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अहिले भएको विषयलाई इतिहासमा समावेश गराउनुपर्ने भन्दै स्वेतपत्र ल्याउने तयारीमा आफूहरू रहेको बताएका हुन्।
‘हामी स्वेतपत्रको तयारीमा छौँ। भएको के हो? भन्ने कुरा इतिहासमा दर्ज गराउनुपर्छ। त्यसैले अब हामी स्वेतपत्र ल्याउँछौं‚’ राजनीतिक स्थायित्वका लागि आफू नै प्रस्तावक बनेर पार्टी एकता गरेको भन्दै उनले भने‚ ‘पार्टी एकताको प्रस्तावक म नै हुँ। त्यो राजनीतिक स्थायित्वका लागि थियो। हामीले आफूलाई पनि समीक्षा गर्नुपर्नेछ। ओलीको प्रवृत्ति पहिल्यै देखिएको थियो। तर समयमै किन रोक्न सकिएन भनेर समीक्षा गर्छौं।’
आफूहरू लोकतन्त्र र संविधानलाई बचाउन लडाइँको मोर्चामा रहेको बताउँदै प्रचण्डले यसलाई पार्टीको आन्तरिक विषयका रूपमा नबुझ्न आग्रह गरे। ‘हामीहरू सत्यको पक्षमा छौं। अहिले प्रतिगमन भएको हो। यो पार्टीको आन्तरिक विषय होइन। त्यसरी बुझ्न भएन‚’ उनले भने।
पार्टीको झगडाले मूलधारका सञ्चार माध्यम, बुद्धिजीवी, लेखकहरू कम्युनिस्ट पार्टीहरू सडकमा नआएको बताउँदै उनले देशका सबैभन्दा राम्रा ‘ब्रेन’हरू अहिले प्रतिगमन भएको र त्यसलाई रोक्न लागिपरेको बताए।
‘सडकमा कसले बढी ल्यायो भन्ने कुरा होइन। सत्यको पक्षमा को छ, मुद्दाको पक्षमा को छ भन्ने हेर्नुस्‚’ पञ्चायतका बेला हुने पञ्चर्यालीको सम्झना गर्दै उनले भने‚ ‘सडकमा त पञ्चायतका बेलामा पनि ठूलाठूला पञ्चर्याली हुने गर्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।