काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रूपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोशेढुंगा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन्।
बीमा समितिमा नियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरू केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए।
अर्थसचिव शिशिरकुमार ढुंगानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिस्पर्धी बनाउनुपर्ने उल्लेख गरे। राजश्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए।
बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले बीमा समितिका अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।