काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ।
आइएमई ग्रुपद्वारा मंगलबार प्रदेश २ को राजधानी जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरूलाई चेक हस्तान्तरण गरे।
चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवमं ग्रुपमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आइएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे। वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दै गर्दा कोरोनाका कारण मृत्यु भएकाहरूलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आइएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने धेरै भएको बताए।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आइएमईले भरोसा कोषमार्फत् प्रभावित परिवारलाई सहयोग पुर्याउँदै आएको बताउँदै संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री एवम् प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताए।
कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ। प्रदेश २ अन्तर्गतको जनकपुर क्षेत्रबाट कुल १५ जनालाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।