काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा सर्वोच्च अदालतमा नेकपा नाम विवादको मुद्दा पेशीमा पछिल्लो समय पटक पटक चढिरहेको छ।
लामो समयसम्म सुनुवाइ हुन नसकेको उक्त विवाद पछिल्लो पटक पुस १४ गते पेशीमा चढेको थियो। लगत्तै माघ ६ गते पनि पेशीमा रहेको थियो। १४ गतेको पेशी पक्षका कानून व्यवसायीले हटाएका थिए भने ६ गते न्यायाधीशले ‘हेर्न नमिल्ने’ हुँदै सुनुवाइ सरेको थियो। आज बिहीबार फेरि यो मुद्दा पेशी चढेको छ। बिहीबार उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरमा पेशी रहेको छ।
२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै ऋषि कट्टेलले मुद्दा दायर गरेका थिए। ३ वर्षदेखि विचाराधीन उक्त मुद्दा अन्तिम फैसलाका लागि पेशी चढिरहेको छ। सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।
सर्वोच्चले हालसम्म सबै विपक्षीलाई अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न भनेकाले सबैले लिखित जवाफ पेश गरेका थिए। यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको थियो।
सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रूपमा पेश गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।
कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले आयोगमा उजुरी दिएका थिए। आयोगले कात्तिक ९ गते सत्तारूढ नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरूको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।