काठमाडौं- भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ २ करोड बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौंको बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेपछि उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएको विशेष अदालतले जानकारी दिएको छ।
न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि गुरुङसँग धराैटी मागिएको थियो।
गुरुङ परिवारका नाममा विशेष अदालतले २०७६ फागुन २३ गते अदालत उपस्थित हुनका लागि १५ दिने म्याद जारी गरेको थियो सोअनुसार झण्डै ११ महिना ढिलो गरी बुधबार उनी विशेषमा उपस्थित भएका थिए।
अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको पाइएको थियो।
गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भाइबुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।