काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५ सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ।
महाशाखामा एक कार्यक्रम गरी बुधबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीलाई ५ सय थान ज्याकेट सहयोग हस्तान्तरण गरेको हो।
कार्यक्रममा सडक सुरक्षामा देखिएका चुनौती समाधानबारे छलफलसमेत भएको थियो। नाडासँग मिलेर अगाडि बढ्न ट्राफिक प्रहरी सदैव तयार रहेको जानकारी उपरीक्षक अधिकारीले दिएका थिए।
छलफलमा नाडा अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग विगतदेखि नै भएको सहकार्यबारे चर्चा गरेका थिए।
दुलालले महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंशा गर्दै यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए।
नाडा अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनील रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियाको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।