काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले भोलि, बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ। बुधबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आमहड्ताल घोषणा गरिएको हो।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहको केन्द्रीय संघर्ष समितिले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको हो। सरकारको प्रतिगामी कदमविरुद्ध यो कदम चाल्न बाध्य भएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बताइन्।
उनले आमहड्तालका क्रममा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था सबै बन्द रहने बताइन्। तर, परीक्षा सञ्चालनमा भने कुनै अवरोध नगरिने उनको भनाइ छ।
संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–माधव पक्ष थप आक्रोशित बनेको छ। यो समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ‘विशाल सभा’ गर्ने तय गरेको छ।
पत्रकार सम्मलेनमा नेतृ पम्फा भुसालले संघर्षलाई अझ सशक्त बनाउन र प्रतिगमनविरुद्ध जुनसुकै मूल्य चुकाउन तयार रहेको बताइन्। उनले स्वतः कामचलाउ भएको सरकारले मन्त्रिपरिषद् पुनर्गठन, भूमि आयोगका सदस्य नियुक्त, संवैधानिक निकायमा नियुक्त गरेकोमा आपत्ति जनाइन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।