काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संघर्षका कडा कार्यक्रम ल्याउने भएको छ। यसका लागि आज, बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन हुँदैछ।
प्रतिनिधि सभा विघटन र बुधबार संवैधानिक निकायमा गरिएको नियुक्ति लगायत विषयलाई लिएर कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्न सक्ने एक नेताले बताए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारीले आजै बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सपथ लिइसकेका छन्। संसदीय सुनुवाइ नगरेर संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–माधव पक्ष थप चिढिएको छ। यसको सशक्त प्रतिवाद गरिने नेताहरूले बताएका छन्।
यसअघि गरिएका आन्दोलनका कार्यक्रमले प्रभाव पार्न नसकेपछि आमहड्तालसम्म जाने हुन सक्ने ती नेताले बताए। ओलीले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक आयोगमा हस्तक्षेप गर्न थालेपछि कडा संघर्षका कार्यक्रम ल्याउने तयारी गरिएको हो। पत्रकार सम्मेलनमार्फत् सशक्त खालका आन्दोलनका कार्यक्रम घोषणा हुन सक्ने केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।