काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
बुधबार विज्ञप्ति सार्वजनिक गर्दै उनले संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको बताएका हुन्।
‘संवैधानिक परिषद्को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो। त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो’, उनले भनाइ छ।
सात दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको नेता सिंहको भनाइ छ। ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।