काठमाडौं- खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन्। मंगलबार बिहान साढे १० बजेतिर ललितपुरको नख्खु जेलमा पुगेर उनले ओलीलाई भेटेको मन्त्री थापाका सहयोगी राजेन्द्र गौतमले बताए।
सरकार र विप्लव नेतृत्वको नेकपावीच वार्ताको कुरा भइरहेका बेला मन्त्री थापाले ओलीलाई जेलमै गएर भेटेका हुन्। विप्लव नेतृत्वको नेकपाले वार्ता गर्न सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलालगायत नेताहरूको टोली बनाएको थियो।
वार्ता टोली बनाए लगत्तै बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि सरकारसँगको संवाद रोकिएको थियो। सत्तारूढ नेकपा विभाजन भएपछि सरकारले विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध हटाएर आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको बताइन्छ।
विप्लव नेतृत्वको नेपालले समेत सरकार गम्भीर आए आफूहरू तयार रहेको बताउँदै आएका छन्। तर, खानेपानी मन्त्री थापाका स्वकीय सचिव गौतमले राजनीतिक संवाद गर्न नगएको दाबी गरे।
‘नख्खु कारागारमा खानेपानी, ढलको समस्या रहेछ। यहाँ क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा खानेपानी र ढलको समस्या रहेछ’ गौतमले भने, ‘निरीक्षण गर्दै जानेक्रममा हेमन्तप्रकाश ओली कमरेडसँग भेटे भएको हो। अरु राजनीतिक कुरा भएन। सन्चो-बिसन्चो सोधपुक्ष मात्रै भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।