फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताएका छन्।
सोमबार नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर षड्यन्त्र भइरहेको बताएका हुन्।
निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नु षड्यन्त्र भएको उनको भनाइ छ। केन्द्रीय कमिटीमा एक चौथाई सदस्यसमेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले आफूहरू नै आधिकारिक भएको उल्लेख गरे।
‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवाल उठाउन खोजेको देखिन्छ। प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन्। त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ? दाबी गर्न मिल्छ? त्यसो हुनाले सबै सवालहरुको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ। हरेक षडयन्त्र भइरहेका छन् की पार्टीको आधिकारिकताको कसैलाई पनि नदिने, निर्वाचन चिन्ह कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षड्यन्त्रहरू भइरहेको छ,’ उनले भने।
विगतमा पनि यस्ता षडयन्त्र भइरहेका तर निर्वाचन आयोगले कानुन र यथार्थको आधारमा निर्णय गरेको नजिर रहेकोले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गरे।
‘हामी सम्झनु पर्दछ। विगतमा पनि अनेक षड्यन्त्रहरू भएका थिए तर तत्कालीन समयमा निर्वाचन आयोगका पदाधिकारीहरुले कुनै दबाबको सामु झुकेनन्, उनीहरुले कानून हेरे यथार्थलाई हेरे, कानून र यथार्थको आधारमा निर्णय गरेका छन्। ती निर्णयहरु नजिरको रुपमा रहेका छन्। ती नजिरहरुलाई बेवास्ता गरिकन अनेक ढंगले चल्ने किसिमका प्रयत्न हुन सक्दछन्। त्यो हुनाले हामी होसियार बन्न आवश्यक छ,’ नेपालले भने।
अध्यक्ष नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिक नेतृत्व आफूहरुले नै रहेको दाबी समेत गरे। दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।