काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले महासचिव विष्णु पौडेललाई जिम्मेवारीमुक्त गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पौडेललाई महासचिव र केन्द्रीय कमिटीबाट हटाएको केन्द्रीय सदस्य निरज आचार्यले बताए।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्काशित गरेको छ। माघ ११ गते बसेको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। आजको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गरेको हो।
त्यसअघि माघ ५ गते ओलीलाई स्पष्टीकरण सोधिएको थियो। तर, उनले जवाफ दिएका थिएनन्।
आजको केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेललाई पनि नेकपाको साधारण सदस्यबाटै किन नहटाउने भनेर स्पष्टिकरण सोध्ने निर्णय समेत गरेको केन्द्रीय सदस्य आचार्यले बताए।
प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।