काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसिरहेको छ। बबरमहलस्थित् कार्की ब्यांक्वेटमा जारी स्थायी समितिको बैठकपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक बस्नेछ।
आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थायी समिति बस्नुपर्ने भएपछि १ बजेसम्मका लागि सारिएको थियो। स्थायी समिति बैठक लम्बिएका कारण केन्द्रीय कमिटीको बैठक सुरु भएको छैन।
माघ ११ गते साँझ बसेको निर्वाचन आयोगको आन्तरिक बैठकले नेकपा विभाजित नभएको र दुवै पक्षले गरेका बैठक र निर्णयलाई अवैधानिक भनेपछि पहिलोपटक नेकपाको एक पक्षको बैठक बस्न लागेको हो।
सोही पक्षको माघ ११ गते अपराह्न बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो। त्यसअघि माघ ५ गते ओलीलाई स्पष्टीकरण सोधिएको थियो। तर, उनले जवाफ दिएका थिएनन्। आजको केन्द्रीय कमिटी बैठकले त्यो निर्णयलाई अनुमोदन गर्ने बताइएको छ। अन्य एजेन्डाबारे खुलाइएको छैन।
गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि नेकपाका दुई पक्षले आ-आफ्नो गतिविधि गर्दै आएका छन्। एक पक्षको नेतृत्व प्रचण्ड-माधवले गरेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-माधव पक्षले केन्द्रीय कमिटी बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र आउँदा कार्यक्रमको तयारीबारे छलफल गर्नेछ। यो समूहले माघ २८ गते काठमाडौंमा हालसम्मकै ‘विशला जनसभा’ गर्ने तय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।