काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा सरकारी पक्षको बहस सुरु भएको छ। आइतबारसम्म, १३ दिन रिट निवेदकको तर्फबाट बहस भएकोमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु भएको हो।
सोमबारदेखि प्रतिनिधि सभा विघटनको निर्णय सही छ भनि महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन्। बहसमा सहभागी हुँदै खरेलले रिट निवेदकका तर्फबाट जति समय लगाइएको छ उति नै अर्थात् १३ दिन नै आफूहरूलाई चाहिने माग गरे। इजलासमा उठेका सबै प्रश्नको जवाफ दिनुपर्ने भएकोले समय लाग्ने उनको दाबी छ।
खरेललगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायीहरूले प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्नेछन्। महान्यायाधिवक्ता खरेलले १३ रिट निवेदकमध्ये केहीले हतारो गरेको टिप्पणी समेत गरेका छन्। उनले केही रिट निवेदकले विपक्षी बनाउनु नपर्नेलाई पनि बनाएको र केही बनाउनु पर्नेलाई नबनाएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।