काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ। आज, सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको हो। बैठक बबरमहलस्थित् कार्की ब्यांक्वेटमा बोलाइएको छ।
माघ ११ गते साँझ बसेको निर्वाचन आयोगको आन्तरिक बैठकले नेकपा विभाजित नभएको र दुवै पक्षले गरेका बैठक र निर्णयलाई अवैधानिक भनेपछि पहिलोपटक नेकपाको एक पक्षको बैठक बस्न लागेको हो।
सोही पक्षको माघ ११ गते अपराह्न बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो। त्यसअघि माघ ५ गते ओलीलाई स्पष्टीकरण सोधिएको थियो। तर, उनले जवाफ दिएका थिएनन्। आजको केन्द्रीय कमिटी बैठकले त्यो निर्णयलाई अनुमोदन गर्ने बताइएको छ। अन्य एजेन्डाबारे खुलाइएको छैन।
गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि नेकपाका दुई पक्षले आ-आफ्नो गतिविधि गर्दै आएका छन्। एक पक्षको नेतृत्व प्रचण्ड-माधवले गरेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-माधव पक्षले केन्द्रीय कमिटी बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र आउँदा कार्यक्रमको तयारीबारे छलफल गर्नेछ। यो समूहले माघ २८ गते काठमाडौंमा हालसम्मकै ‘विशला जनसभा’ गर्ने तय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।