काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा हुने कारोबारमा लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम भुक्तानी लिएर मात्र सेयर खरिद गर्न धितोपत्र दलालहरुलाई निर्देशन दिएको छ।
धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ।
विनियमावलीको विनियम ८ मा ‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्नेछ’ भनी व्यवस्था गरिएको छ। यही व्यवस्थालाई कार्यान्वयन गर्नका लागि धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन रकम वा चेक लिन भनेको हो।
धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले धितोपत्र बिक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिन निर्देशन दिइएको बोर्डको भनाइ छ। बोर्डले गतहप्ताबाट सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट चक्र ‘टि प्लस टु’मा हुनुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिइसकेको छ। तर धितोपत्र दलाल व्यवसायीहरुले त्यसको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो आएको पनि बोर्डले जनाएको छ।
त्यस्तै बैंक खाता र शेयर खाता इन्टिग्रेसनको कार्य अगाडि बढिसकेकाले केही समयभित्रै यो व्यवस्था कार्यान्वयनमा आउने पनि बोर्डले जनाएको छ। आइतबार धितोपत्र बोर्डका अध्यक्षसहित उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा बोकर एसोसियसिन अफ नेपालका पदाधिकारीबीच यस विषयमा छलफल भएको जनाइएको छ। ‘धितोपत्र कारोबारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेसन गर्नेगरी लगानीकर्ताको धितोपत्र कारोबार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय भएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।