काठमाडौं– भारी वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम प्रभावित हुनसक्ने भएपछि पार्टीले मौसमअनुकूल क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल क्षेत्रमा मिति सारेर अधिवेशन गर्न निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० गतेका लागि तोकिएको क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिएको हो।
मौसम अनुकूल भएका क्षेत्रमा असोज १० मै निर्वाचन गर्न र प्रतिकूल अवस्था रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ–नगर अधिवेशन जारी छ। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
भारी वर्षाका कारण विभिन्न स्थानमा अधिवेशन प्रक्रिया सञ्चालन गर्न कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी आएको र आगामी केही दिनसमेत वर्षा कायम रहने मौसम विभागलगायतका निकायको सूचनालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।