काठमाडौं- आइतबार मध्यान्ह १२ बजे माइतीघर परिसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षका नेता तथा कार्यकर्ताहरू सूर्य र हसिँया-हथौडा अंकित झण्डा बोकेर प्रतिनिधि सभा विघटनको विरोधमा नारा लगाइरहेका थिए। रातो कपडामा सेतो रंग भएको हसिँया-हथौडा अंकित झण्डा र सेतो कपडामा रातो रंग भएको सूर्य अंकित झण्डा हातमा बोकेका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लगाइरहेका थिए।
नारा लगाइरहेको केही समयपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त स्थानमा पुगे। कालोपत्रे सडकमा विच्छ्याइएको कालो ब्यानरमा 'प्रतिनिधिसभा' विघटनको असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध धर्ना कार्यक्रम' लेखिएको थियो। उक्त ब्यानरको बिच भागमा सेतो रंगको कपडामा रातो रंगको सूर्य अंकित झण्डा थियो।
नेकपा अध्यक्ष प्रचण्ड सोही झण्डाको ठिक पछाडि पलेटी कसेर बसे। धर्ना कार्यक्रममा सहभागी सबैले ताली बजाउँदै पुन: ओलीविरद्ध नारा लगाए। नेता तथा कार्यकर्ताले सिठ्ठी बजाउँदै भने- सूर्य चिन्ह हाम्रो हो। पलेटी कसेर बसेका प्रचण्डले सेतो रंगको मास्क फुकाल्दै मन्द मुस्कान दिए।
प्रचण्डसहित सडकमा पलेटी कसेर बसेका थिए, साेही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र पम्फा भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका नेता। उनीहरु बसेको स्थानमा केही समयपछि अर्का नेता सुरेन्द्र पाण्डे आइपुगे। पाण्डे उनीहरुभन्दा पछिल्लो लहरमा बसे।
धर्ना कार्यक्रममा रहेका कार्यकर्ताहरू आपसमा भन्दै थिए, 'प्रचण्ड कमरेड त सूर्यलाई अगाडि राखेर पो बस्नु भएको छ।' धर्ना कार्यक्रममा उनीहरु (प्रचण्ड-माधव) ले कुनै मन्तव्य भने राखेनन्। कार्यक्रममा प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरे।
मन्दिर–मन्दिर धाउने गरेका ओली अब कम्युनिष्ट नरहेको बताउँदै पाण्डेले ओली पक्षको २३ गते हुने कार्यक्रमका लागि राजावादीहरूलाई सहभागी हुनका लागि उर्दी जारी भएको उल्लेख गरे।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षले बुधबारदेखि माइतीघर मण्डलमा जारी राखेको साताव्यापी धर्नामा आज प्रचण्ड र नेपाल पनि सहभागी भएका हुन्। यसबीचमा उनीहरू काठमाडौं उपत्यकाबाहिरको कार्यक्रममा सहभागी भएकाले धर्नामा पुगेका थिएनन्।
यो समूहले यसअघि माघ २१ गतेसम्म धर्ना जारी राख्ने बताएपनि संघर्षका अन्य कार्यक्रममा व्यस्त हुनुपरेको भन्दै आजैदेखि धर्ना अन्त्य गरेको छ। २८ गते काठमाडौंमा ‘विशाल जनसभा’को तयारी गरेको यो समूहले यसअघि माघ ९ गते पनि काठमाडौंमा प्रदर्शन र सभा गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्ष आन्दोलित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।