काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको प्राथमिक आवेदक सबैले सेयर प्राप्त गरेका छन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे बाँडफाँड गरिएको सेयरमा कम्तीमा ५० कित्तासम्म माग गर्नेलाई मागअनुसार नै सेयर दिइएको हो।
यस्तै, ४ लाख ९२ हजार ७२ जनाले भने थप १० कित्ता (६० कित्ता) सेयर प्राप्त गरेका छन्। उनीहरूलाई गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ। आइपिओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य थिए भने ६ हजार २७६ वटा आवेदन रद्द भए।
बैंकले जारी गरेको ८ करोड कित्ता आइपिओमध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको थियो। त्यस्तै म्युचुअल फन्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नका लागि आवेदन माग गरेको थियो।
बैंकले नेपालकै इतिहासमा सर्वाधिक बढी प्राथमिक सेयर निष्काशन गरेको थियो। यसअघि अपर तामाकोशीले सर्वसाधारणका लागि सर्वाधिक प्राथमिक सेयर जारी गरेको थियो। हाल बैंकका संस्थापकहरुको सेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुगेको छ।
अहिलेसम्मको सेयर संचरनाअनुसार नेपाल सरकारको स्वामित्व १६.६७ प्रतिशत रहेको छ। प्राथमिक सेयर निष्काशनपछि नेपाल सरकारको स्वामित्व १० प्रतिशतमा खुम्चिनेछ।
बैंकमा नेपाल सरकारको लगानी २ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै हाल वाणिज्य बैंकहरुको सेयर स्वामित्व ३४.८२ प्रतिशत रहेको छ। प्राथमिक सेयर निष्काशनपछि उनीहरुको पनि सेयर स्वामित्व २०.८९ प्रतिशतमा खुम्चिने छ। हाल उनीहरुको लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।