काठमाडौं- निर्वाचन आयोगले नेकपाको दुवै पक्षले आफूहरुले पार्टी फुटाएको छौं भनेर नभनेको अवस्थामा आफूले फुटाइदिन नमिल्ने बताएको छ।
शुक्रबार आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका आयुक्त ईश्वरी पौडेलले भने- हामीलाई आधिकारिकता चाहियो भनेर नेकपाको दुवै पक्ष नआएको अवस्थामा, छुट्टिँदै नछुट्टिएको पार्टी, नेकपा एउटै छ भने भने 'तँ आधिकारिक हो' भनेर आयोगले पार्टी फुटाउने होइन।'
उनले नेकपाको अहिलेको अवस्था घरमा भागबण्डाका लागि झगडा गरेका तर अदालत नगएका दाजुभाइको जस्तो भएको उनले बताए। 'दुई जना दाजुभाइ छन्। अंशबण्डाको लागि घरमा झगडा गरेका छन्। मिडियामा पनि आएका छन्। तर जिल्ला अदालतमा गएर भागबण्डा गरिदिनुस् भनेर गएन भने अदालतले खोजेर भागबण्डा गरिदिन्छ? हो त्यही कुरा हो', उनले भने।

दुवै पक्षले जे जे गरेको भए पनि आफूहरुलाई दफा ५१ को व्यवस्था अनुसार दलको विवरण हेरफेर गरिदिनुस् भन्ने सम्मको पात्रै पत्र प्राप्त भएको उनले बताए। 'राजनीतिक दलको दफा ५१ अनुसार हामीलाई अपडेटिङ गरिदेऊ भनिएको हो। उहाँहरुले बुझाएको ४४१ जनाको विवरण परिवर्तन भएको छैन। आयोगले त्यसलाई परिवर्तन गर्न मानेन', उनले भने।
उनले निर्वाचन प्रयोजनका लागि निकट समयमा दल दर्ताको सूचना निकाल्न लागेकाले नेकपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको बताए। 'निर्वाचनका लागि राजनीतिक वातावरण सिर्जना गर्न भनेर डाकेका थियौं। तर एउटा पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले महत्त्वपूर्ण विषयमा अध्यक्ष नै उपस्थित भएर छलफल गर्न खोजेका हौं। त्यसैले १८ गतेपछि आउँछौं भनेर भनिएको छ,' उनले भने।
पौडेलले आफूहरु निर्वाचनको तयारीका लागि पूर्णरुपमा लागेको बताए। 'सरकारले निर्वाचनको मिति तोकेपछि त्यसलाई सफल बनाउने हाम्रो कर्तव्य र संवैधानिक दायित्व हो। त्यसका लागि वातावरण बनाउन सबै राजनीतिक पार्टीसँग छलफल गर्छौं। अहिले सत्तारुढ र ठूलो पार्टी भएकाले नेकपालाई छलफलका लागि डाकिएको हो', उनले भने।
शुक्रबार आयोगले छलफलका लागि दुवै नेकपाको दुवै पक्षलाई बोलाइएको थियो। तर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका केही नेता आयोग पुगेर छलफलमा नबसी फर्किएका थिए। केपी शर्मा ओली पक्षका नेताहरु भने केही बेर छलफल गरेर फर्किएका थिए। नेम्वाङसँग भने अनौपचारिक र चिया खाएर बसेको पौडेलले बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।