काठमाडौं- निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षसँग छलफल गर्दैछ। बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगले दुई विषयमा छलफल गर्न बोलाएको प्रवक्ता श्रेष्ठले बोलाए। निर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा छलफलका लागि बोलाइएको हो।
दुवै पक्षलाई अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधिलाई पठाउन भनिएको छ। प्रतिनिधि सभा विघटनपछि नेकपा अनौपचारिक रुपमा विभाजन भइसकेको छ। एक पक्षको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन्। त्यस्तै, अर्को पक्षको नेतृत्व केपी शर्मा ओलीले गरेका छन्।
सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको भए पनि समयमै निर्वाचन हुनेमा आशंकाहरु व्यक्त भएका छन्। त्यसका अन्य कारणका अतिरिक्त नेकपाको विवाद पनि एक कारण हो।
यसअघि नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोगमा निवेदन दिएका थिए। तर, ती निवेदनमा दुवै पक्षको दाबी नपुग्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।