काठमाडौं- सावित्रा भण्डारीको ह्याट्रिक गोलमा राष्ट्रिय महिला लिग फुटबलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। एपिएफले पुलिसलाई ३-० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एपिएफले सहज जित निकालेको हो। एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकाल्यो।
खेलको ३२औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। खेलको ५६औं मिनेटमा सावित्राले अर्को गोल गर्दै एपिएफलाई २-० को अग्रता दिलाइन्। ८४औं मिनेटमा गोल गर्दै सावित्राले ह्याट्रिक गरिन्। उनकै ह्याट्रिक गोलमा एपिएफले पुलिसलाई ३-० गोलको जित निकाल्यो। योसँगै एपिएफले लगातार चौथो जित निकालेको हो।

यता, सावित्रा भण्डारीको भने यो जारी लिगमा तेस्रो ह्याट्रिक हो। यसअघि पहिलो खेलमा सावित्राले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक गोल गरेकी थिइन्। त्यो खेलमा एपिएफले चन्द्रपुरलाई ६-० गोलअन्तरले पराजित गरेको थियो।
त्यस्तै, एपिएफले आफ्नो दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोलअन्तरले हराउँदा पनि सावित्राले ह्याट्रिक गोल गरेकी थिइन्। विराटनगरविरुद्ध सावित्राले ह्याट्रिकसहित चार गोल गरिन्।
तेस्रो खेलमा आर्मीलाई एपिएफले २–० गोलले हराउँदा भने सावित्रा गोलविहीन बनिन्। तर त्यो दुबै गोल सावित्राको एसिस्टमा भएको थियो। जारी लिगमा सावित्राले सर्वाधिक गोल गरेकी छिन्। उनले चार खेलबाट १० गोल गरिसकेकी छिन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।