वासिंटन- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवाद गरेका छन्। संवादका क्रममा चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइटहाउसले जनाएको छ।
मङ्गलबार दिउसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे पनि छलफल भएको बिबिसीले जनाएकाे छ। रुसी वक्तव्यका अनुसार चुनाव जितेकामा पुटिनले बाइडेनलाई बधाई दिएका थिए।
बाइडनले पदभार सम्हालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन्।
ह्वाइटहाउसको वक्तव्यका अनुसार दुई राष्ट्रपतिबिच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफ्गानिस्तानमा रहेका अमेरिकी सेनामाथि रूसले मूल्य तोकेको भन्ने समाचारकाे विषयमा पनि कुराकानी भएकाे छ। एलेस्की नभाल्नीमाथि भएको विषहमलाका विषयमा छलफल भएका थिए।
क्रेम्लिनले भने दुई देशबिचको सम्बन्ध सामान्यीकरणको बिषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसले दुवै देशको स्वार्थलाई सम्बोधन गर्ने जनाएको छ।
मस्कोले 'आफूहरूको विश्वको सुरक्षा र स्थिरता कायम गर्नमा विशेष जिम्मेवारी रहेको कुरालाई ख्याल गरेको' जनाएको छ।
अमेरिकी वक्तव्यमा राष्ट्रपति बाइडेनले आफू र आफ्ना साझेदारलाई रूसले पुर्याउने क्षतिविरूद्ध अमेरिका आफ्नो राष्ट्रिय स्वार्थको बचाउमा बलियोसँग उभिने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।