नयाँ दिल्ली- भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा प्रदर्शन गरेको ट्याक्टर र्यालीका क्रममा प्रहरीसँग भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीसँग भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको बिबिसीले जनाएको छ।
राजधानी नयाँ दिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप भएको हो।
गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्यालीमा हस्तक्षेप गर्नुपरेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।
लालकिल्लामा भएको झडपमा धेरै प्रदर्शनकारी घाइते भएको जनाइएको छ। गणतन्त्र दिवसका दिन भित्र विशेष कार्यक्रम भइरहँदा बाहिर भने प्रदर्शनकारीहरूले निरन्तर किसान अधिकारको मागसहित नारा लगाइरहेका छन्।
कृषिसम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन्।
भारतमा किसानहरुको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक पटक भएका छन्। तर वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ। किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँ दिल्ली केन्द्रित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।