काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म कुनै समूहमा लागेका छैनन्। माघ १४ देखि एकता अभियान सुरु गर्न लागेका उनले जुन समूहले अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर पार्टी एकता गर्ने बताएका छन्।
सरकारी समाचार संस्था राससका अनुसार उनले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताएका हुन्।
उनले भनेका छन्, 'जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु।' उनले अहिलेकै परिस्थितिमा भने कुनै समूहमा आफू नलाग्ने बताएका छन्। भनेका छन्, 'म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन।'
उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए। 'मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,' उनले भने।
नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन्। एकता अभियानका संयोजकमा गौतम, सहसंयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन्। एकता अभियानसँगै नेता गौतमले लेखेका ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औं शताब्दीको कम्युनिष्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ। उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको बताए।
उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए। दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको बताएका छन्
पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।