काठमाडौं– प्रहरीलाई ठगी गरेको आरोपमा पक्राउ परेका ठेकेदार एक लाख धरौटीमा रिहा भएका छन्।
क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक ५५ वर्षीय पिताम्बर मुन्का र सोही प्रालिका कर्मचारी चितवनको माडी नगरपालिका–८ का ४६ वर्षीय नरेन्द्रनाथ पौडेल जनही एक/एक लाख धरौटी तिरेर रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई आइतबार एक/एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै रिहा भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एसपी गंगा पन्तले जानकारी दिइन्।
उनीहरुले प्रहरीलाई चाहिने ‘वुलन’ पाइन्टको कपडामा ठगी तथा जालसाझी गरेका थिए। आर्थिक वर्ष २०७३/७४ मा प्रतिमिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटर कपडा करबाहेक २ करोड १६ लाख ४० हजारमा क्राउन टेक्सटाइल्ससँग खरिद गर्ने सम्झौता भएको थियो। क्राउन टेक्सटाइल्सले कपडा आपूर्ति समेत गरेका थियो।
कपडाको गुणस्तरमा शंका लागेपछि क्राउन टेक्सटाइल्सका प्रतिनिधि पौडेलको रोहबरमा ती कपडाको नमूना संकलन गरी जाँचका लागि २०७७ साउन ३० गते एसजिएस चेन्नई भारतमा पठाइएको थियो।
प्रहरीले पठाएको नमूनाबाट कपडाको गुणस्तर कम हुने थाहा भएपछि पौडलले चलाख्याई गरेर आफैंले दोस्रो नमूना पठाएका थिए।
त्यसपछि कम गुणस्तर कपडा दिने र प्रहरीलाई जालसाजी गरी आफूलाई फाइदा पुर्याएको पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।