काठमाडौं- प्रहरीलाई ठगी गर्ने ठेकेदारलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ घर भई काठमाडौं घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्रनाथ पौडेल र वीरगञ्ज-५ का ५५ वर्षीय पिताम्बर कुमार मुन्का छन्।
उनीहरुले प्रहरीलाई चाहिने 'वुलन' पाइन्टको कपडामा ठगी तथा जालसाझी गरेका थिए। २० हजार मिटर उलन पाइन्टको कपडा खरिद गर्न नेपाल प्रहरी आर्थिक वर्ष २०७३/७४ मा बोलपत्र आह्वान गरेको थियो।
क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालि बहुअरी वीरगञ्ज कपडा खरिदका लागि छनौट भएको थियो। प्रतिमिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटर कपडा करबाहेक २ करोड १६ लाख ४० हजारमा क्राउन टेक्सटाइल्ससँग खरिद गर्ने सम्झौता भएको थियो। क्राउन टेक्सटाइल्सले कपडा आपूर्ति समेत गरेका थियो।
कपडाको गुणस्तरमा शंका लागेपछि क्राउन टेक्सटाइल्सका प्रतिनिधि पौडेलको रोहबरमा ती कपडाको नमूना संकलन गरी जाँचका लागि २०७७ साउन ३० गते एसजिएस चेन्नई भारतमा पठाइएको थियो।
प्रहरीले पठाएको नमूनाबाट कपडाको गुणस्तर कम हुने थाहा भएपछि पौडलले चलाख्याई गरेर आफैंले दोस्रो नमूना पठाएका थिए। त्यसको २ दिनपछि साउन ३२ गते पौडेलले नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर र इमेल समेत राखी डिएचएलमार्फत् कुरियर गरी सोही ल्याबमा आफूखुसी दोस्रो नमूना पठाएका थिए।
कम गुणस्तर कपडा दिने र प्रहरीलाई जालसाजी गरी आफूलाई फाइदा पुर्याएको पाइएको थियो। मुलुकी अपराध संहिता २०७४ को ठगी कसुर गरेको आरोपमा क्राउन टेक्सटाइल्सका प्रतिनिधि र सञ्चाल मुन्कालाई सिआइबीले पक्राउ गरेको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।