काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आफूले राजनीति सिकाएको दाबी गरेका छन्।
दाङमा पुल उद्घाटन गर्न पुगेका उनले प्रचण्ड–नेपाल समूहले आफूलाई साधारण सदस्यसमेत नरहनेगरी हटाएको प्रसंगमा यस्तो बताएका हुन्। उनले भने, ‘कतिले अध्यक्षलाई हटायौं, अझ साधारण सदस्यबाटै निकाल्यौं भनेका छन्। जसले राजनीति गर्न प्रेरित गर्यो, राजनीति गर्न सिकायो उसैलाई निकाल्ने रे!’
उनले आफूले कसैलाई पार्टीबाट ननिकालेको भन्दै फर्किनसमेत आग्रह गरे। उनले केही मानिस चौतारीमा बसेर आफूलाई अध्यक्ष घोषणा गरिरहेको पनि बताए।
प्रचण्ड–नेपाल समूहले बाटो बिराएको भन्दै उनले फर्किन आग्रह गरे। उनीहरुलाई नेता हुँ भनेर भन्ने तर कुरा नबुझ्नेको संज्ञा दिए। उनले भने, ‘नेता हुँ भन्ने कुरो नबुझेझैं गर्न पाइन्छ? जनताले जति पनि नबुझ्ने? यस्ता नेतालाई जनताले बाइबाइ गर्नुपर्छ।’
आइतबार प्रचण्ड-माधव समूहको नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।