काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धका रिटको मूल मुद्दामा केन्द्रित भएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सोमबारको बहस सकिएको छ। सोमबार बहस नसकिएपछि मंगलबारका लागि यो मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ।
सोमबारको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता शम्भु थापा र मेघराज पोखरेलले बहस गरेका थिए। बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्ने संविधान अरुले पढ्नेभन्दा फरक भएको भन्दै व्यंग्य गरेका थिए।
निवेदकहरूका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको दाबी पेस गरे।
करिब २५० जना अधिवक्ताहरूले यो मुद्दामा बहस गर्नका लागि निवेदन दिएका छन्। यीमध्ये करिब ३० जनाले बहस गरिसकेका छन्। त्यसैगरी सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधिवक्ता अग्नि खरेलले पनि यो मुद्दामा बहस गर्नेछन्।
गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १३ थान रिट दर्ता भएका थिए।
बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घण्टाको समय गत बुधबारबाट निर्धारण गरिएको थियो। तर वकिलहरुले निर्धारित समयसीमा पालना गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।