काठमाडौं- नेकपाको केपी शर्मा ओली पक्षले गरेकाे केन्द्रीय सदस्य थपकाे विषय राजनीतिक भएकाे नेता ईश्वर पोखरेलले बताएका छन्।
२३ गते सो पक्षले आयोजना गरेको सभाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल पक्षले गरेको निर्णयलाई आयोगले नचिनेको बताए। त्यसै सन्दर्भमा केन्द्रीय सदस्य थप्ने सो पक्षको निर्णयबारे सोधिएको प्रश्नमा उनले राजनीतिक कुरा भएको बताएका हुन्।
'केपी ओलीले नेतृत्व गरेको नेकपाको प्रथम अध्यक्षको नाताले उहाँले गरेका ती कुराहरु राजनीतिक हुन्। कानुनी रुपमा जरुरत पर्दा हामी यथोचित ढंगले प्रस्तुत हुन्छौं', उनले भने।
पार्टीमा विभाजन आएपछि ओली पक्षको केन्द्रीय कमिटी बैठक बसेर सुरुमा केन्द्रीय कमिटीको आकार बढाएर एक हजार एक सय ९९ सदस्यीय पुर्याइएको थियो। पछि फेरि १५०१ बनाइएको थियो।
पोखरेलले निर्वाचन आयोगले गरेको निर्णयलाई आफूहरुले सम्मान गर्ने बताए। 'सकारात्मक ढंगले लिन्छौं। सुरुदेखि नै केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको तर्फबाट जे अडान राखिएको थियो। त्यसलाई बल पुग्ने हामीले देखेका छौं', उनले भने।
सो पक्षले माघ २३ गते काठमाडौंमा सभा गर्ने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।