काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौंमा फेरि विरोध सभा गर्ने भएको छ। केन्द्रीय संघर्ष समितिले सोमबार सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने उल्लेख गरिएको छ। यसअघि माघ ९ गते पनि यो समूहले काठमाडौंमा प्रदर्शन र सभा गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने माघ २३ गते काठमाडौंमा सभा गर्ने निर्णय गरिसकेको छ।
संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस गर्ने, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम हुनेछ।
यस्तै, माघ १६ गते श्रद्धाञ्जली कार्यक्रम हुनेछ। जसका लागि शान्तिबाटिकाबाट लैनचौर पुगिने संयाेजक श्रेष्ठले बताए।
यस्तै, माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने प्रचण्ड–माधव पक्षको कार्यक्रम छ।
माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते देशव्यापी मसाल जुलुस गर्ने तथा विभिन्न तह र तप्कासँग अन्तरक्रिया र प्रदेशका राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रम गर्ने संयोजक श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।