काठमाडौं- कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, भन्सार र खाद्य प्रयोगशालासँग सम्बन्धित सबै प्रक्रिया एकै ठाउँबाट टुंग्याउनका लागि ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ कार्यान्वयन गर्ने विषयमा विभिन्न निकायहरुबीच सम्झौता (एमओयू) भएको छ।
भन्सार जाँचपास प्रक्रियालाई सरल र छिटो बनाएर व्यापार सहजीकरण गर्नका लागि भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार भन्सार विभागसँग एमओयू गरेका हुन्।
यो प्रणाली लागू भएपछि कृषिजन्य वस्तुको निकासी पैठारी गर्दा समय र लागत दुवै कम पर्ने जनाइएको छ। निकासीकर्ता वा पैठारीकर्ता सम्बन्धित विभाग र कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने, सिफारिस पत्रसाथ भन्सार बिन्दुमा पुग्नुपर्ने झन्झटको अन्त्य हुने, निर्णय प्रक्रिया चाँडो हुने र काम कारबाही पारदर्शी हुने गरी राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनको पहल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
एकद्वार प्रणाली लागू भएपछि कानूनी प्रक्रिया पूरा भएका वस्तु भन्सार विन्दुमा नरोकिने हुँदा शुल्क न्यून हुने नै समय र लागत कम हुनुका साथै यसबाट व्यापार सहजीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा भन्सार विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग विभाग, आन्तरिक राजश्व विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, औषधी व्यवस्था विभाग, यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत ४० वटा निकायहरु एउटै सञ्जालमा आवद्ध रही कार्य अघि बढाउने तयारी रहेको छ।
तर, यो प्रणाली कार्यान्वयनको पहिलो चरणमा अहिले २१ वटा निकायहरु मात्रै जोडिएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म नेपालमा लाइसेन्स वा अनुज्ञापत्र प्राप्त गरेर आयात हुने कुल वस्तुहरुमध्ये ८२ दशमलव ३ प्रतिशत कृषि क्षेत्रको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।