काठमाडौं- संवैधानिक कानूनका विज्ञहरुको संस्था, संवैधानिक कानून व्यवसायी मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति खेद जनाएको छ। कानून व्यवसायीलाई होच्चाएर गरिएको टिप्पणी र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि भएको टिप्पणीप्रति उनीहरुले आपत्ति व्यक्त गरेका हुन्।
मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईंले विज्ञप्ति जारी गर्दै कानून व्यवसायमार्फत् लोकतन्त्र र कानूनी शासनमा अतुलनिय योगदान पुर्याउँदै आएका वरिष्ठ अधिवक्ता भण्डारीले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस गरेको विषयलाई लिएर प्रधानमन्त्रीले सार्वजनिक रुपमा दिएको अवहेलनाजन्य अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।
यो अभिव्यक्तिप्रति संवैधानिक कानून व्यवसायी मञ्चको गम्भीर ध्यानाकर्षण भएको भन्दै न्यायलयको स्वतन्त्रता र गरिमामाथि आँच आउने गरी अस्वस्थ टिकाटिप्पणी नगर्न पनि आग्रह गरिएको छ।
‘कानूनी शासनको पालना गर्ने र गराउने संवैधानिक कर्तव्य भएको प्रधानमन्त्री जस्तो उच्च सार्वजनिक पदाधिकारीले निवेदकको तर्फबाट बहस गरेकै कारण श्रद्धेय वरिष्ठ अधिवक्ता भण्डारीलाई ‘बाजे वकिल’ र संवैधानिक इजलाससमक्ष गरेको बहसलाई ‘तमासा’को संज्ञा दिने कार्य निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ, ‘कानून व्यवसायीको हैसियतमा स्वतन्त्रतापूर्वक पक्षको प्रतिनिधित्व गरेको तथ्यलाई उपेक्षा गर्दै तमासा’ देखाउन लगेको’ भनेर लान्छित गर्ने गरी अभिव्यक्ति दिनु खेदजनक छ।’
अड्डा अदालतमा मुद्दाका पक्ष वा विपक्षको प्रतिनिधित्व गरेर बहस पैरवी गर्ने कुरा कुनै पनि कानून व्यवसायीको संविधान र कानून अन्तर्गत संरक्षित पेशागत स्वतन्त्रता भएको विज्ञप्तिमा उल्लेख छ।
पेशागत स्वतन्त्रताको पूर्ण सम्मान गर्न तथा संसद विघटन जस्तो गम्भीर सार्वजनिक सरोकारको विषयमा अदालतको सहयोगार्थ पक्ष, विपक्षको तर्फबाट तथा एमिकस क्यूरीको रुपमा बहस गरेको विषयलाई लिएर कसैलाई पनि लान्छित गर्ने र हतोत्साहीत गर्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ।
रचनात्मक बहस, छलफल, तर्क-वितर्कबाट नै संवैधानिक विवादको यथोचित न्याय निरुपणमा सहयोग पुग्ने र न्यायिक निर्णयको पनि वैधता सुनिश्चित हुने मञ्चको विज्ञप्तिमा उल्लेख छ।
अदालतको इजलासमा हुने छलफलका क्रममा न्यायमुर्ती र कानून व्यवसायी बीचमा भएका कुनैपनि सवाल जवाफका विषयलाई लिएर हुने टिप्पणी अवहेलनाजन्य हुने मञ्चको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।