काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले दुई समूहमा विभाजित पार्टी एकीकरणको अभियान घोषणा गर्ने भएका छन्। माघ १४ गते तय भएको घोषणा कार्यक्रमअघि उक्त अभियानमा जोडिन चाहने नेताहरुको नामावली संकलन भइरहेको छ।
उक्त एकता अभियानको संयोजक गौतम रहनेछन्। ५०१ जना सदस्यको केन्द्रीय कमिटी बनाइने तयारी भइरहेको गौतम निकट पत्रकार विश्वमणि सुवेदीले जानकारी दिए। उनका अनुसार पार्टी एकता चाहने नेता र कार्यकर्ताहरु राखेर कमिटी निर्माणको काम भइरहेको छ।
सिद्धार्थ कटेज, धोवीघाट बुधबार बिहान ११ बजे पार्टी एकता अभियान घोषणा हुनेछ। जसले दुवै समूहका शीर्ष नेताहरुलाई भेटेर आपसी मनमुटावमा एकै ठाउँमा रहेर छलफल गर्न दबाब सिर्जना गर्नेछ।
औपचारिक रुपमा नेकपा नफुटेसम्मका लागि उक्त अभियान क्रियाशील रहनेछ। फुटबाट जोगाउन नसक्दा कुनै एक समूहतर्फ संगठित हुने स्वतन्त्रता एकता अभियानका नेताहरुलाई रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।