काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्ले पाँचै वर्ष काम गर्न पाउनुपर्छ भन्ने विषयको प्रतिवाद गरेका छन्। अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा भएको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले पाँचै वर्षका लागि जागिर जस्तो सांसद् पद नभएको बताएका हुन्।
'चुनिएर आएपछि संसद्मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने, सांसद् भनेको जागिर हो? सांसद् भनेको जागिर होइन। उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ। यो सथायी जागिर हो?', उनले भने।
उनले जनताको सेवा गर्नुपर्ने, देशको सेवा गर्नुपर्ने, ठाउँमा देशको सेवा नगरेर अरुद्वारा निर्देशित, अरुको इशारामा अरुको लागि काम गर्ने भएपछि स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई भत्काउन खोजेपछि स्थिरताको लागि जनतामा ताजा जनादेशका लागि जानु परेको बताए। 'कुनकुन सांसद्ले के कस्ता काम गरेका छन्, जनताले मूल्यांकन गर्नुपर्यो, जनताले कस्ता काम गरे यिनको मूल्यांकन गर्नुपर्यो र त्यसअनुसार पुरस्कृत गर्ने कि सजाय गर्ने त्यो कुरा जनताले फैसला गर्नुपर्यो', उनले भने।
प्रधानमन्त्री ओलीले आफू तानाशाह नभएको बताए। 'मैले आफ्नो हातमा लिएको छैन। लिएको भए तानाशाही हुन्थ्यो। जनतालाई फैसला गर्नुस् भन्दा म तानाशाह भएँ?', उनको प्रश्न छ।
ओलीले संसद् विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराउनहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी, जनविरोधीहरु भएको बताए। उनीहरुलाई अस्तव्यस्तता खडा गर्ने देशमा, स्थिरता हुन नदिने, स्थायित्व हुन नदिने र बहुमतको सरकार तोडेर अनि जोडजाम सरकार बनाएर स्थिरताका नाटक गर्ने भएको प्रधानमन्त्रीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।