काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा प्रतिनिधि सभा विघटनको विरोधमा जारी आन्दोलनका विषयमा समीक्षा हुने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए।
बैठकमा यसअघिका आन्दोलन र अब गरिने आन्दोलनका विषयमा समेत गहिरो समीक्षा गरिने नेताहरुले जनाएका छन्। प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अरु दलहरुसँग कसरी सहकार्य गरेर जाने भन्ने विषयमा समेत छलफल हुने भुसालले बताए।
प्रचण्ड–नेपाल पक्षले विधानविपरीत गतिविधि गरेको र आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यस विषयमा ओलीले कुनै जवाफ नदिएकाले थप कारबाहीका विषयमा पनि छलफल हुने भएको छ।
प्रचण्ड–नेपाल पक्षले यसअघि बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि सोधेको स्पष्टीकरणको पनि ओलीले कुनै जवाफ नदिएकाले पार्टीको साधारण सदस्यबाट समेत कारबाही गर्ने निर्णय हुन सक्ने नेताहरुले बताएका छन्। बैठकमा सांगठनिक एकताका विषयमा समेत छलफल हुन सक्ने भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।