काठमाडौं–यो साता सुनको मूल्यमा सामान्य उतारचढाव आएको छ। साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो साताको शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो। सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो। सुनको मूल्य सोमबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको थियो।
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ तोकिएको थियो। त्यस्तै बुधबार ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य निरन्तर बढ्ने क्रममा रहेको छ। बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो। सुन बिहीबारका लागि ९३ हजार १ सय रुपैयाँ तोकिएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै चाँदीको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला १२ यस ३० रुपैयाँमा कारोबार भएको थियो। साताको अन्तिम दिन शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विश्व बजारमा पनि सुनको मूल्य बढेको छ। जनवरी १५ मा विश्व बजारमा सुन प्रतिऔंस १८ सय २८ अमेरिकी डलरमा कारोबार भएको थियो। त्यस्तै जनवरी २२ मा आइपुग्दा सुन प्रतिऔंस १८ सय ४८ अमेरिकी डलरमा कारोबार भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहिर्गमन र जो बाइडेनले कार्यभार सम्भालेसँगै सुन बजारमा सामान्य बदलाव देखिएको हो। आगामी साता यसको प्रभाव सुनको मूल्यमा देखिने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।