काठमाडौं- राइड सेयरिङ कम्पनी पठाओ नेपालले यात्रु तथा चालकहरूको बीमा गर्ने भएको छ। कम्पनीले बीमा गर्न एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग पुस ८ गते साझेदारीपत्रमा हस्ताक्षर गरेको हो।
साझेदारीअन्तर्गत पठाओमा यात्रा गर्ने ग्राहक र चालकहरूको दुर्घटनामा परी मृत्यु, अपांगताजस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बिमा रकम प्राप्त गर्नेछन्। यसको साथै कुनै पनि ग्राहक तथा चालकले १ लाखसम्मको दुर्घटना उपचार बिमा सुविधा पनि पाउनेछन्।
यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपश्चात् ३० दिनभित्र बिमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन गर्नु पर्नेछ। पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा चालकले यो सुविधा लिन सक्नेछन्।
पठाओ नेपाल प्रालि क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विगत २ वर्षदेखि ग्राहक तथा चालकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि बिमा गर्ने निर्णय गरेको बताए। यसका लागि कम्पनीले एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।