काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उनकै पक्षमा उभिएर गतिविधि गरेको भन्दै प्रचण्ड-माधव पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव पेश गरेका हुन्।
उद्योग, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल गरेका हुन्। संघीयतामाथि नै प्रहार हुनेगरी मुख्यमन्त्रीले गतिविधि गरेको, कोरोना संक्रमणका बेला प्रदेशको उपस्थित देखाउन नसकेको भन्दै अविश्वास प्रस्ताव दर्ता गरिएको संसाद विशाल खड्काले बताए।
मुख्यमन्त्रीले मन्त्रीहरुसँग समन्वय नगरी एकलौटी ढंगले चलेको भन्दै उनीविरुद्ध उभिएको उनले बताए। प्रचण्ड–माधव पक्षले पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई यसअघि नै दलको नेता बनाइसकेको छ। प्रदेश सभाका एक सय १० जनामध्ये नेकपाका ८० जना छन्।
त्यसमध्ये प्रचण्ड-माधव पक्षमा ४५ सांसद उभिएका छन्। प्रदेश सभाको अर्को बैठक माघ १९ गते बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।