कोरोना अहिलेदेखि होइन, रंगमञ्चमा पहिल्यैदेखि थियो।
करिब ३० वर्षदेखि नाटक क्षेत्रमा समय बिताएका नाट्य निर्देशक अनुप बरालले चियाको चुस्कीसँगै रंगमञ्चमा कोरोनाले अड्डा जमाइरहेको कुरा सुनाए।
कारण के होला त? गफ सुनिरहेका लेखक बुद्धिसागरले कुरा कोट्याए। आर्थिक अभावले गर्दा रंगकर्मीले सधैं कोरोनाकालको जिवन बिताउन बाध्य भएको अनुपको भनाइ थियो।
उनले भने, ‘पहिल्यैदेखि कोरोनाकाल बिताइरहेका रंगकर्मीले अहिले झनै महाकोरोनाकाल भोगिरहेका छन्। यसबाट रंगमञ्च र यसका कालाकार कसरी बाहिर उम्कन्छन् भन्ने चिन्ता छ।’
रंगमञ्चका कलाकर्मीलाई दुई छाक खानसमेत खर्च जुटाउन मुस्किल परिरहेको छ। शिल्पी थियटरका निर्देशक घिमिरे युवराजले पनि यहि कुरा दोहोर्याए।
उनका अनुसार कलाकार यतिसम्म आर्थिक अभावमा फसका छन् कि, अझै उनका चारजना विद्यार्थी गाउँबाट शहर आउन सकेका छैनन्।
खान र बस्न नै अभाव भएपछि गाउँ पुगेका उनीहरू फेरि काठमाडौंसम्म आउन नसकेको युवराजको भनाइ छ।
चलचित्र र नाटक एकै पाटाका दुई सिक्काजस्ता हुन्। अनुपले भने, ‘कति कुरा फिल्मले नाटकबाट सिकेको छ त कतिपय कुरा नाटकबाट फिल्मले सिकेका छन्। लाइटको कुरा रंगमञ्चबाटै फिल्मले सिकेको हो। अन्य देशमा त झनै रंगमञ्चमा नाटक गरेर फिल्म छिर्ने कलाकारको संख्या धेरै छ‚’ अनुपले भने, ‘तर हाम्रो देशमा यी दुईमा काम गर्ने कलाकारको जीवनशैली आकाश र जमिनजस्तो फरक छ।’
‘फिल्मका कलाकारहरु ब्राण्डेड कपडा लगाएर कार चढेर हिड्ने हैसियत राख्छन् भने रंगमञ्च अझै माइक्रोबसको ढोकामा झुण्डिन बाध्य छ‚’ अनुपले भने।
त्यसो त उनी आशावादी पनि देखिए। अहिले रंगमञ्चका कलाकार भन्नासाथ फिल्ममा राम्रो अफर छ। यहाँबाट पास आउट भएको भनेरै कतिपय फिल्मले सहायक भूमिकाका लागि रंगमञ्चका कलाकार रोज्छन् यो खुशिको कुरा हो।
यसको श्रेय भने उनी विद्यार्थी दयाहाङलाई दिन्छन्। दयाहाङको क्रेज र सफलता देखेरै रंगकर्मीले फिल्ममा राम्रो ठाउँ पाइरहेको उनको भनाइ छ।
फिल्ममा सानातिना भूमिका पाएपनि उनीहरुको आर्थिक हैसियत भने केहिको बाहेक माथी जान सकेको छैन। अनुपले दुखेसो पोख्दै भने, ‘हामी यही क्षेत्रमा जमेका मान्छे भन्नेहरुलाई त बाँच्न गाह्रो छ, झनै भर्खरै रंगमञ्च छिरेकाहरुलाई त कति समस्या होला।’
नाटकको भोक
त्यसो त अन्य भोकको अगाडी नाटकको भोकले जित्ने अनुप बताउँछन्। आफ्नो सुरुवाती दिन सम्झँदै अनुपले भने, ‘विदेशमा नाटक पढेर आएको मान्छे म, सुरुमा निकै गर्छु भन्ने सोचेको थिएँ। तर नेपाल आएपछि मेलोमेसो मिलाउनै समस्या भयो‚’ अनुपले भने, ‘एकपटक प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्सवको आयोजना हुनेभयो। हाम्रा लागि त नाटक महोत्सव दशैँजस्तै हुनुपर्ने हो। तर त्यस्तो उत्साह नै छैन। दर्शक नै नभएको हलमा कसलाई देखाउनु नाटक।’
रौसिँदै उनले भने, ‘त्योबेला नाटकको भोक यतिसम्म थियो कि, सबैले पागल भने। म सुनिल पोखरेल दाइको घरमा गएँ र अनुहारमा लगाउने पेन्ट मागें। अनि त्यो अनुहारमा लगाएर सडकमा उफ्रिन थालें। मेरो उफ्राइ हेर्न मानिसहरु जम्मा भए। मैले बिस्तारै उनीहरुलाई हलभित्र लगें र हल भरिपूर्ण बनाएँ।
त्यही भोकले नै आज तीस वर्ष हुँदासम्म पनि म यही क्षेत्रमा टिकिरहेको छु।
पछि सुनिल पोखरेलले नै विदेशमा नाटक पढेर आएको मान्छे, केही नयाँ पढाउला कि भनेर नाचघरमा अभिनय पढाउन दिएको उनले बताए। कोठामा स्टोपमा खाना पकाएर हिँड्दै जमल पुगेर काम गर्थें। त्यो समयमा मेरो तलब महिनाको तीन हजार थियो।
दुःखमा फुर्नेे र समयसँगै कुद्ने कला
अन्य कलाहरु आजिवन हुन्छन्। पेन्टिङ, फिल्म, लेखिएको नाटक, किताब आदि। तर रंगमञ्च त्यस्तो हुँदैन। आज हेर्यो, भोलि हेरेको नाटक त्यही नाटक हुँदैन। अनुपले भने, ‘हामी कहिलेकाहीँ नोस्टाल्जियामा बाँच्छौं तर रंगमञ्चमा एकपटक राम्रो काम गरें भनेर त्यसैमा जिवन बिताउन मिल्दैन‚’ उदाहरण दिदैं अनुपले भने, ‘युरोपमा एक कलाकारले समुन्द्रमा बाँसैबाँसको कफन बनाए। कफनमा लाशलाई पनि निकै कलात्मक तरिकाले सजाए। दर्शकलाई हेलिकप्टरमा राखेर कफनमा आगो लगाइदिए। आर्ट त्यस्तो पनि हुँदोरहेछ।’
उनले उत्साहित हुँदै भने, ‘पहिलोपल्ट प्रेम गर्नुहुन्छ नि। त्यसको स्वाद बिहे गरेर सँगै बस्दा त्यही अनुभूति फेरि लिन सकिँदैन, नाटक पनि त्यतै हो। पहिलो प्रेमको अनुभूति बारबार लिने बानी लागेकाहरु रंगकर्मी हुन्छन्। र जस्तै दुःख परेपनि यसैमा रमाउन थाल्छन्‚’
उनले जोड दिँदै भने, ‘दुःखमा प्रतिभा फुर्छ। खान नपाएका बेला कतिपय काव्य रचना भएका छन्। यसको अर्थ सबै गरिब हुनुपर्छ भनेको होइन,’ उनी हाँसे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।