काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको साधारणसभाले १८.५ प्रतिशत लाभांश पारित गरेको छ। बैंक सञ्चालक समितिले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको थियो।
बिहीबार बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा भएको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको बैंकले जनाएको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ४२ करोड रूपैयाँ थियो। बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ खर्ब ५२ अर्बबाट वृद्धि भई १ खर्ब ६६ अर्ब रूपैयाँ पुगेको छ। यसैगरी कुल लगानी अघिल्लो वर्षको १ खर्ब २७ अर्बबाट वृद्धि भई १ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको बैंकले जनाएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् वित्तीय कारोबार गर्दै आएको छ। पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन-युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपालले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।