काठमाडौं-भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।
खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११.५२ बजे काठमाडौं उत्रिएको थियो। भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो। सरकारले ७७ जिल्लामा एकसाथ खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ।
स्वास्थ्य सचिव लक्षण अर्यालले खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए। उनले खोप लगाउनका लागि नामावलीको अनलाइन इन्ट्री भइरहेको जानकारी दिँदै खोप लगाउने व्यक्तिको कार्ड बनाइने जानकारी दिए।
उनले भने,‘हामी खोप लगाउनका लागि काउन्सिलिङ्ग गर्ने, खोप अभियानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालिम दिने, खोप ढुवानी गर्ने लगायतका प्रक्रिया पुरा गर्नुपर्ने छ। माघ भित्रै खोप अभियान सुभारम्भ गर्ने तयारीमा लागेका छौँ।'
सरकारले कुन दिनबाट खोप अभियान सुरु गर्ने र पहिलो खोप लगाएको कति समय पछि दोस्रो खोप लगाउने भन्ने निर्णय गर्न बाँकी छ। स्वास्थ्य सचिव अर्यालले खोप प्राविधिक सल्लाहकार समितिले पहिलो डोज लगाएको कति समयमा दोस्रो डोज लगाउने भन्ने निर्णय गर्ने बताए।
स्वास्थ्य तथा जनसख्ंया मन्त्री हृदयेश त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए। उनले पारदर्शी रुपमा खोप खरीद प्रक्रिया अघि बढाउने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।