न्युयोर्क–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ७३ जनालाई क्षमादान दिएका छन्। तीमध्ये आर्थिक अपचलनको आरोप लागेका उनका पूर्वसल्लाहकार स्टीभ बेनन पनि छन्।
नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पदभार ग्रहण गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले अरू ७० जनाको जेल सजाय पनि घटाउने निर्णय पनि गरेका छन्।
तर ट्रम्पले आफू र आफ्नो परिवारका सदस्यलाई क्षमादानबारे कुनै निर्णय गरेनन्। उनले बाइडनले शपथ नलिउन्जेल र आफू राष्ट्रपति पदमा बहाल हुँदासम्म क्षमादानसम्बन्धी थप निर्णय गर्न सक्ने अधिकारअन्तर्गत क्षमादान दिएका हुन्।
क्षमादान पाउने को–को छन्?
ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्तिमा क्षमादान पाउने ७३ जना र सजाय घटाइएका ७० जनाको सूची छ। उक्त सूचीमा भएका अधिकांश व्यक्तिहरू मानवाधिकारवादी तथा अभियानकर्मीहरूले परम्परागत रूपमा क्षमादानका लागि माग गर्ने गरेका व्यक्तिबाहेक ट्रम्पसँग नजिकको सम्बन्ध भएका मानिसहरू पनि छन्।
तीमध्ये स्टीभ बेनन यसअघिको राष्ट्रपतीय निर्वाचन अभियानका लागि ट्रम्पका प्रमुख रणनीतिकार थिए। उनलाई गत वर्ष अगस्टमा अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न सञ्चालित एउटा अभियानमा आर्थिक हिनामिना गरेको अभियोग लागेको थियो।
अभियोजनकर्ताहरूका अनुसार बेनन र अन्य तीन जनाले हजारौँ दाताहरूलाई ठगेका थिए। उक्त अभियानका लागि अढाई करोड डलर संकलन भएको थियो।
बेननलाई १० लाख डलरभन्दा बढी लिएको र त्यसबाट केही रकम व्यक्तिगत रूपमा खर्च गरेको आरोप लागेको थियो। तर उनले त्यसको खण्डन गरेका थिए। सुनुवाइ हुनुअघि नै उनलाई क्षमादान दिइनुलाई अस्वाभाविक मानिएको छ। तर त्यसो भएको पहिलो पटक भने हैन।
बेनन कन्जर्भेटिभ अभियानका लागि एक महत्त्वपूर्ण नेता भएको ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ। त्यसमा उनलाई ‘एउटा राजनीतिक परियोजना’ मा सहभागी भएकाले अभियोग लगाइएको दाबी गरिएको छ।
त्यसैगरी क्षमादान पाउनेमा रिपब्लिकन पार्टीका कोष सङ्कलक एलिअट ब्रोइडी पनि छन्। उनले चिनियाँ र मलेसियाली हितका लागि ट्रम्पलाई प्रभावित पार्न रकम लिएको स्वीकारेका थिए।
ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरका एक साथीले पनि क्षमादान पाएका छन्। उनलाई विवाहको सम्बन्धविच्छेदको प्रसङ्गमा साइबर–स्टकिङ गरेको आरोप लागेको थियो।
गत वर्ष हतियारसम्बन्धी एउटा मुद्दामा दोष स्वीकारेका ड्वेयन कार्टरले पनि क्षमा पाएका छन्। उनले ट्रम्पको प्रशंसा गर्दै निर्वाचन अभियानका बेला उनीसँग खिचेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।