काठमाडौं- विद्युतीय कारमा प्रयोग हुने ब्याट्री महंगो हुनु र ब्याट्री चार्ज गर्न लाग्ने गरेको समय सबैका लागि झन्झटिलो बन्दै आएको थियो। जसका कारण विद्युतीय कारको पर्याप्त बिक्री हुन सकेको छैन। ब्याट्रीको लागत क्रमिक रुपमा घट्दै गएको छ भने ब्याट्री चार्ज गर्न लाग्ने समयमा भने व्यापक परिवर्तन आएको छ।
इजरायली कम्पनी स्टोरडटले हालै विद्युतीय कारमा प्रयोग हुने ब्याट्री ५ मिनेटमै फुल चार्ज हुने प्रविधि विकास गरेको छ। उक्त कम्पनीले ५ मिनेटमै फुल चार्ज हुने ब्याट्री प्रविधिको विकास पहिलो पटक गरेको द गार्जियनले लेखेको छ। सो ब्याट्री प्रविधि चार्ज गर्न लाग्ने समय पेट्रोल पम्पमा गएर डिजेल/पेट्रोल भर्नभन्दा कम समय लाग्नेछ।
अहिले प्रचलनमा रहेको विद्युतीय कार चालकहरुको सबैभन्दा चिन्ताको विषय नै यात्रा गर्दागर्दै ब्याट्री चार्ज सकिन्छ भन्ने हो।
विद्युतीय कार खरिदकर्ताको उक्त समस्यालाई इजरायली कम्पनी स्टोरडटले विकास गरेको र चिनियाँ कम्पनी इभ इनर्जीले उत्पादन गरेको ब्याट्रीले दूर गरिदिने भएको छ।
स्टोरडटले यसअघि नै स्मार्ट फोनमा प्रयोग हुने ‘एक्सट्रिम फास्ट चार्जिङ’ ब्याट्री सार्वजनिक गरिसकेको छ। स्मार्ट फोनका साथै ड्रोन तथा स्कुटरमा प्रयोग हुने ‘एक्सट्रिम फास्ट चार्जिङ’ ब्याट्री आइसकेको छ। पछिल्लो पटक कम्पनीले कारमा प्रयोग हुने ‘एक्सट्रिम फास्ट चार्जिङ’ ब्याट्री उत्पादन गरेर विद्युतीय कार निर्माताहरुलाई देखाइरहेको छ।
डिमलर, बिपी, सामसङ र टिबिकेले स्टोरडटमा लगानी गरेका थिए भने २०२० मा उक्त कम्पनीको नाम ब्लुम्बर्ग न्यू इनर्जी फाइनान्स पायोनियर बनाइएको थियो। कम्पनीले बनाएको ब्याट्री ५ मिनेटमा चार्ज हुन हाई भोल्ट चाहिनेछ।
विश्वका अधिकांश कार उत्पादकहरु विद्युतीय कार उत्पादनमा केन्द्रीत भएका छन्। विद्युतीय कार उत्पादनमा ख्याती कमाएको अमेरिकी कम्पनी टेस्लाले समेत सस्तो, छिटो चार्ज हुने ब्याट्री र एक पटकको फुल चार्जमा धेरै किलोमिटर कुद्ने कार उत्पादनमा ठूलो लगानी गरिरहेको छ।
त्यस्तै अन्य स्टार्टअप विद्युतीय कार उत्पादक कम्पनीहरू समेत ठूलो लगानीसहित आइरहेका छन्।
यसका साथै विद्यमान कार उत्पादक कम्पनीहरु समेत विद्युतीय कार उत्पादनमा केन्द्रीत हुन थालेका छन्। टोयोटा, बिएमडब्लू, फक्सवागन, हुन्डाई, टाटालगायत कम्पनीहरुले विद्युतीय कार ल्याइसकेका र ल्याउने क्रममा रहेका छन्।
विद्युतीय कारमा प्रयोग भएका ब्याट्रीको आयु ८ देखि १० वर्षसम्म रहेकाले ब्याट्री व्यवस्थापनको विषय भने चुनौतीपूर्ण नै रहेको छ। विद्युतीय कारको कुल लागतको ४० देखि ६० प्रतिशत ब्याट्रीमा नै खर्च हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।